काठमाडौं- १३औं साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ।
माल्दिभ्समा शुक्रबार सम्पन्न पहिलो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै बंगलादेशले सुखद् सुरुवात गरेको हो।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा १० खेलाडीमा समेटिएको श्रीलंकाविरुद्ध बंगलादेशका लागि तोपु बर्मानले निर्णायक गोल गरे।
उनले खेलको ५६औं मिनेटमा पेनाल्टीमार्फत् निर्णायक गोल गरेका हुन्।
५५औं मिनेटमा डुकसन पुसलासले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो।
जितसँगै बंगलादेशले पहिलो खेलमा ३ अंक जोडेको छ। श्रीलंकाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।
नेपालले शुक्रबार आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै साफ च्याम्पिनसिपको सुरुवात गर्दैछ। नेपाल र माल्दिभ्सबीचको खेल राति पौने १० बजे हुनेछ।
नेपाल साफको २८ वर्षको इतिहासमा एक पटक पनि फाइनलमा पुग्न सकेको छैन। पछिल्ला चारमध्ये तीन संस्करणको सेमिफाइनल खेलेको नेपाल तीनै पटक त्यहाँभन्दा माथि पुग्न सकेन।
सन् १९९३ को पहिलो संस्करणमा चार टिमले प्रतिस्पर्धा गर्दा नेपाल तेस्रो भयो। त्यसपछि १९९५ र १९९९ मा सेमिफाइनलमै नेपालको यात्रा सकियो। त्यसपछि पनि नेपालको सहभागिता उल्लेखयोग्य छैन।
यस पटकको साफमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंका गरि ५ राष्ट्रको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।