काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले उमेरले ७० पूरा नहुँदासम्म उम्मेदवार र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीको विषयलाई स्पष्ट व्यवस्था गर्नुपर्ने बताएका छन्। शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्तावमा सो विषय उल्लेख भएको हो।
'७० वर्षको उमेरहदलाई ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीमा रहन पाउने स्पष्ट व्यवस्था गरी त्यसलाई यथावत् राख्नु उपयुक्त हुन्छ', पोखरेलको भनाइ छ।
एमाले विधानमा ७० वर्षे प्रावधान अहिले पनि निरन्तर रहने प्रस्ताव गरिएको छ। तर, कार्यकालको बीचमै ७० वर्ष पुगे के गर्ने भन्ने विषयमा भने नेताहरुको आ–आफ्नै धारणा छ।
आगामी मंसिरमा हुने भनिएको एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको उमेर ६९ रहने, तर केही समयपछि नै ७० पुग्ने भएकाले महाधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भए पनि ७० वर्ष पुगेपछि उनले पद छाड्नुपर्ने कतिपय नेताहरुको भनाइ छ। पोखरेलको प्रस्तावले ओलीलाई सहज हुने देखिन्छ।
'विगतमा जस्तो दुई कार्यकालभन्दा बढी एकल नेतृत्वमा रही काम गरिसकेको व्यक्तिलाई पुनः अध्यक्ष वा मुख्य कार्यकारी पदमा उठ्ने अनुमति दिनुहुँदैन। पार्टीमा तीन कार्यकालभन्दा लामो समयसम्म एकल र शक्तिसम्पन्न कार्यकारी अधिकारसहितको महासचिवका भूमिकामा कार्यरत माधवकुमार नेपाललाई अध्यक्षको उम्मेदवार बन्न दिँदा उत्पन्न गतिरोध र समस्याबाट हामी सबैले गहन पाठ सिक्नु आवश्यक छ ', संगठनात्मक प्रस्तावमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।