काठमाडौं- नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले पार्टी सुदृढीकरणका निम्ति जारी विधान महाधिवेशन 'माइलस्टोन' हुने बताएका छन्।
शुक्रबार महाधिवेशन स्थल गोदावरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो गतिविधिहरु आगामी चुनावका लागि केन्द्रित गर्ने बताए।
'अब नियमित रुपमा चुनाव भयो भने १४ महिनापछि र 'अर्ली इलेक्सन' भयो भने त्योभन्दा चाँडै हुने चुनावमा एमालेलाई बहुमत प्राप्त पहिलो शक्तिको रुपमा स्थापित गर्ने गरी हाम्रा समग्र कामहरुलाई केन्द्रित गर्छौं', उनले भने, 'त्यस अर्थमा यो विधान महाधिवेशन हाम्रो पार्टीको सुदृढीकरणका सन्दर्भमा एउटा माइलस्टोन हुनेछ भन्ने मैले विश्वास लिएको छु।'
शुक्रबार सुरु भएको विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन्। त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका छन्। अहिले महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।
विधान महाधिवेशन आइतबारसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।