काठमाडौं- शुक्रबारबाट सुरु नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा भ्रष्टाचारको बारेमा सबैभन्दा कम उल्लेख गरेको पाइएको छ।
४४ पेज लामो प्रतिवेदनमा उनले ६ ठाउँमा भ्रष्टाचार शब्द प्रयोग गरेका छन्। ओलीले पछिल्लो सरकार बनेपछि भ्रष्टाचारलाई संरक्षण दिने अभिप्रायले संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरिएको आरोपसमेत लगाएका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकार बर्हिगमनपछि नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म संवैधानिक परिषदको बैठक राखेका छैन।
२०७७ मंसिर ३० गते र त्यसपछि बैठक राखेर ओलीले नै अख्तियारदेखि मानव अधिकार आयोगसम्म ५२ पदाधिकारी संवैधानिक आयोगमा नियुक्त गरेका थिए। त्यस विरुद्धको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा मुद्दा रहेपछि प्रधानन्यायाधीश सहभागी हुन मिल्ने कि नमिल्ने विवादका कारण रोकिएको छ।
ओलीले आफ्नो प्रतिवेदनमा भ्रष्टाचार, राजश्व चुहावट र सम्पत्ति शुद्धीकरण अन्तर्गत महत्वपूर्ण काम भएको दाबी गरेका छन्। उनले सिराहा, सर्लाही र बर्दिया जिल्लाको ३०१ बिघा सरकारी र सार्वजनिक जग्गा फिर्ता गराइएको दाबी गर्दै भ्रष्टाचार नियन्त्रणमा आफ्नो सरकारले काम गरेको प्रतिवेदनमा उल्लेख गरेका छन्।
काठमाडौंको ललिता निवासको १३६ रोपनी जग्गा हडप्ने कार्यविरुद्ध मुद्दा जारी रहेको र मातातीर्थको १७४ रोपनी जग्गा र धरानको सर्दु जलाधार क्षेत्रको जमिनमा भएको अनियमितताको छानबिन आफ्नै सरकारको पालामा भएको दाबी प्रतिवेदनमा गरिएको छ।
ओलीको पालामा यति समूहलाई नेपाल ट्रष्टको जग्गा कौडीको भाउमा लिजमा दिने कार्य भयो। त्यस्तै कोभिड महामारीमा ओम्नी समूहलाई सेटिङमा स्वास्थ्य सामाग्री खरिद गर्ने दिने भनि भ्रष्टाचार भएको आरोप लाग्यो। त्यस्तै ओली निकट रहेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा कमिसन वापतको ७० करोड रुपैयाँ डिल गरिरहेको अडियो सार्वजनिक भयो। उनले मन्त्रीबाट राजीनामा दिनुपर्यो। वाइडवडी प्रकरणमा पनि सरकारले छानबिन गर्न नसकेको भन्दै आलोचना भयो। तर, ओलीको प्रतिवेदन यी विषयबारे केही उल्लेख गरिएको छैन।
ओलीले आफ्नो प्रतिवेदनमा अहिले जनताका बीचमा समाजवादको सपना बाँड्ने तर, राजनीतिक संरक्षणमा ठूला व्यापारी र दलाल पुँजीपतिका हितमा व्यवसाय सुम्पने, वास्तविक लागत भन्दा करोडौं बढीमा आयोजना ठेक्का दिने काम भएको आरोप प्रतिवेदनमा लगाएका छन्। त्यस्तै ठेक्कापट्टा स्वीकृतिमा कमिशन उठाउने र भ्रष्टाचारलाई संस्थागत गर्ने जस्ता काम अहिले भइरहेको उनले आरोप लगाएका छन्।
त्यस्तै राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई सुदृढ पार्नु, भ्रष्टाचार, अनियमितता र रुढीवादविरुद्ध तथा सुशासन, सामाजिक सांस्कृतिक सचेतना र रुपान्तरणको अगुवाइ गर्नु यतिबेला एमालेको कार्यनीतिको मुख्य विशेषता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सत्तामा रहेको बेला भ्रष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन र जनताबाट अलगावको खतरा अन्य बेलामा भन्दा प्रबल हुने भएकाले यस्ता प्रवृत्तिले प्रश्रय नपाउन् भन्नेतर्फ सचेत हुँदै त्यस्तो प्रवृत्ति र काम देखिएमा तत्काल सच्याउनु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
२०३५/०३६ सालको प्रशंग उल्लेख गर्दै ओलीको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रण, जमिनको अधिकार, सरकारी दमनको विरोध र जनजीविका मुद्दालाई आन्दोलनवाट कम्युनिष्ट पार्टीहरुले अगुवाइ गरेकाले कायम राख्नुपर्ने उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।