काठमाडौं– शुक्रबारबाट सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे मौन देखिएको छ।
ललितपुरको गोदाबरीमा सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा ओलीले ४४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। राजनीतिक प्रतिवेदनमा चीन, भारत र अफगानिस्तानका विषयलाई समेटेका ओलीले एमसिसी बारे केही पनि उल्लेख गरेका छैनन्।
प्रधानमन्त्री भएको बेला एमसीसी पारित गर्ने पक्षमा रहेका ओली सरकारबाट विस्थापित भएर प्रतिपक्षमा पुगेपछि भने एमसीसीप्रतिको पूर्ववर्ती अडानबाट 'पछि हट्न थालेका' छन्। केही दिन अघि संसद्मा बोल्ने क्रममा ओलीले एमसीसी टेबल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका थिए।
ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा अफगानिस्तान घटनाका बाछिटा दक्षिण एसियामा पर्न सक्ने उल्लेख गरेका छन्। अफगानिस्तानलाई लिएर भूराजनीतिक तनाव सिर्जना हुन सक्ने सम्भावना रहेको ओलीको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। अहस्तक्षेप, लोकतन्त्र, खुल्लापन र क्षेत्रीय शान्तिका पक्षमा नेपाल उभिनुपर्ने उनको धारणा छ।
चीन–भारतको सम्बन्धको प्रभाव नेपाल लगायत दक्षिण एसिया र समग्र विश्वमै गहिरो रहेको उल्लेख गर्दै ओलीले प्रतिवेदनमा लेखेका छन्,‘चीन र भारतबीचको सीमा समस्या लगायतका मतभिन्नताहरु चाँडै समाधान होउन् र दुई देशबीच सार्थक साझेदारी विकास होस् भन्ने चाहन्छौं। यसले विकास र सहयोगको त्रिदेशीय सहकार्यको संभावना पनि बढ्ने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।