काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस दलाल पुँजीवादी वर्ग चरित्रको पार्टी भएको आरोप लगाएका छन्। दलाल पुँजीवाद वर्गको प्रवृत्ति कालो धनलाई सेतो बनाउने प्रकृतिको हुने पनि ओलीले टिप्पणी गरे।
ललितपुरको गोदाबरीमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवदेनमा ओलीले दलाल नोकरशाही पुँजीवादले मुलुकमा रोजगारी सिर्जना गर्न नखोज्ने उल्लेख गरेका छन्। कालो धनलाई सेतो बनाउने, राज्यको सम्पत्ति विभिन्न बहानामा दोहन गर्ने, वस्तु र सेवामा स्वस्थ प्रतिष्पर्धालाई निषेध गर्दै एकाधिकार कायम गर्ने र राज्यका निकायहरुमा अनुचित प्रभाव पार्ने प्रवृत्ति दलाल नोकरशाही पुँजीवादले गर्ने ओलीले उल्लेख गरेका छन्।
संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगाउँदा कांग्रेसले 'नाकाबन्दी' भनेर भन्न नसकेको विगतलाई पनि ओलीले स्मरण गराएका छन्। अन्य राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम र समग्र राष्ट्र नाकाबन्दी विरुद्ध एकजुट हुँदा कांग्रेसले नाकाबन्दी भन्न नसकेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।
संविधान जारी भइसकेपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व नेकपा (एमाले) लाई हस्तान्तरण नगरेको पनि ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। 'कांग्रेस सहमतिबाट पछि हट्यो। आन्दोलनका उपलव्धि संस्थागत गर्न, परिवर्तनका संवाहकबीच निश्चित अवधिसम्म सहकार्य हुनुपर्ने आवश्यकता अस्वीकार गरेर कांग्रेसले ०७ साल र ४६ सालको आन्दोलनपछि गरेका गल्ती दोहोर्यायो,' ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।