काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई मुख्य प्रतिस्पर्धीका रुपमा उभ्याएका छन्। शुक्रबारदेखि सुरु भएको पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले विभिन्न पार्टीलाई हेर्ने दृष्टिकोण प्रस्तुत गरेका छन्।
'नेपाली कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ । यो पार्टी हाम्रो मुख्य प्रतिष्पर्धी पार्टी हो', प्रतिवेदनमा उल्लेख छ।
माओवादी केन्द्र, मूलतः ‘प्रचण्ड'का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति आफूहरुको विमति रहेको ओलीको भनाइ छ।
'मधेस–केन्द्रित दलका संकीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ', प्रतिवेदनमा भनिएको छ।
कतिपय दलहरु राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन् भन्दै ओलीले यसमा आफूहरुको आपत्ति र विरोध रहेको बताएका छन्।
पार्टीले कसैलाई दुश्मन भने घोषणा नगर्ने ओलीको भनाइ छ। 'बहुदलीय प्रतिष्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने जस्ता कम्युनिष्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्छ', प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।