काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन नेता माधवकुमार नेपाल हरहालतमा पार्टी विभाजको पक्षमा रहेको बताएका छन्।
ललितपुरको गोदाबरीमा शुक्रबारदेखि सुरु भएको प्रथम विधान महाधिवेशन प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले पार्टी विभाजनको मुख्य योजनाकार माधवकुमार नेपाल नै भएको पनि किटान गरेका छन्।
नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वका विरुद्ध नेपालले किचलो सुरु गरेको ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा सङ्लग्न थिए,’ प्रतिवेदनमा लेखिएको छ।
२०७३ सालमा पनि एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार नेपाल भएको ओलीले आरोप लगाएका छन्। एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्न, प्रदेशमा एमाले सरकारलाई विफल पार्न, पार्टीका उम्मेदवारहरुलाई पराजित गर्न नेपाल लागेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।
आफ्नो चीन भ्रमण पश्चात नेपाल र प्रचण्डले सरकार परिवर्तनको भित्रि खेल सुरु गरेको ओलीको दाबी छ। आफूलाई प्रधानमन्त्रीबाट हटाउन वाह्य शक्तिको इसारामा उनीहरुले काम गरेको ओलीको दाबी छ।
‘प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिइ विस्थापित गर्ने योजनामा पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायत तिनै पात्रहरु क्रियाशील थिए,’ ओलीले प्रतिवेदनमा लेखेका छन्, ‘जसले २०७४ पछि मेरो नेतृत्वको सरकारलाई असफल बनाउन उसै गरी घेराउ, मोर्चाबन्दी र षडयन्त्र गरे।’
१० बुँदे सहमति नेपालकै सहमतिमा तयार भएपनि उनले त्यसलाई अस्वीकार गरेको ओलीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।