काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रस्तावमा माधव नेपाल पार्टीबाट बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या अन्त्य नहुने उल्लेख गरेका छन्।
एमालेमै रहेका तत्कालीन नेपाल पक्षीय नेताहरुलाई इंगित गर्दै पोखरेलले यस्तो उल्लेख गरेका हुन्।
एमालेमै रहेका, तर फरक मत राख्ने स्थायी कमिटीका १० नेताहरु र अन्यले अझै चुनौती दिन सक्ने पोखरेलको विश्लेषण छ। केही दिनअघि मात्रै त्यही समूहका घनश्याम भूसालले स्थायी कमिटीमै फरक मत राखेका थिए। उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनलाई जोडतोडले उठाएका थिए।
यही विषयलाई लिएर उनले प्रतिवेदनमा संगठनात्मक अराजकता र गुटबन्दीको समस्या भन्ने उपशीर्षक नै राखेका छन्। जहाँ पोखरेलले आफ्नो विश्लेषण प्रस्तुत गरेका छन्। उनले भनेका छन्, ‘पार्टीबाट माधव नेपालको नेतृत्वमा एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य हुनेछैन।’
नेकपा एमालेभित्र स्थापित प्रणालीले विगतमा अन्तरविरोधलाई बाँधेर राखे पनि माओवादीसँगको एकताले त्यसलाई खलबल्याएको पोखरेलको विश्लेषण छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।