काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारतबीच देखिएका सीमा लगायतका समस्या समाधानका गर्न जिम्मेवारीपूर्ण कूटनीतिक पहल गरिनुपर्ने बताएका छन्। ओलीले भारतको चासो सम्बोधन गर्न नेपाल र नेपालको चासो सम्बोधन गर्न भारत तयार हुनुपर्ने बताए।
ललितपुरको गोदाशरीमा शुक्रबारदेखि सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै आफ्नो पार्टीको तत्कालीन सरकारले त्यसलाई फिर्ता ल्याउन चाहेको बताए।
छिमेकी मुलुक भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरु प्रतिवद्ध रहेको पनि ओलीले बताए। कसैसँग पनि भैरभाव नराख्नु आफ्नो पार्टीको विदेश नीति भएको पनि ओलीले बताए।
'हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस भन्ने चाहन्छौं। यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ,' ओलीले भने।
ओलीले नेपाल 'एक चीन नीति'मा अडिग रहेको बताए। यस्तै, भारतको चासो सम्बोधन गर्ने विषयमा पनि नेपाल तयार रहेको ओलीले बताए। 'नेपाल–भारत सीमा वारपार अपराध नहोस् र आतंककारीले लाभ उठाउन नपाउन भन्ने कुरामा भारतको चासो देखिन्छ,' ओलीले भने, 'भारतसँगको व्यापार घाटा, लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भू–भाग फिर्ता र सीमाजस्ता विषयमा नेपालको चासो र सरोकार रहेको छ। हामी हाम्रा छिमेकीको जायज चासोप्रति सजग छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।