काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नभई एकीकृत पार्टीको विधान महाधिवेशन भइरहेको बताएका छन्। उनले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादीको रुपमा नेकपा एकता अघिको अवस्थामा पुगेपछि अहिले त्यही एकताको निरन्तरता भएको दाबी गरे।
संस्थापक महासचिव पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको नाम लिँदै ओलीले केही नेताको पदलोलुपताले पार्टीमा केही मानिस छुटेको तर्क गरे।
सर्वोच्च अदालतको फागुन २३ को फैसलाले एकीकरण पूर्वको अवस्थामा फर्काएपछि एमालेको रुपमा क्रियाशिल रहेको बताउँदै उनले नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी भएको दाबी गरे। त्यसआधारमा एमालेको नभई एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन भएको उनले बताए।
‘यो नौलो अभ्यास हो। विगतमा महाधिवेशनबाट हुँदै आएको थियो,’ उनले भने, ‘विधि र विधान नेतृत्व चयनको राप तापमा नपरोस् भनेर विशेष व्यवस्था गरिएको छ।’
अध्यक्ष ओलीले प्रतिकुलता थपिएको बताउँदै कम्युनिष्ट पार्टीका नाममा केही व्यक्तिले आन्दोलनलाई नै बदनाम गराउने काम गरेको आरोप लगाए। उनीहरु एमालेबाट विभाजन भएको उनको भनाइ छ।
पदलुलोपतको कारण पार्टी विभाजन भएको उनले बताए। पार्टीविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ रुप सुरु भएको ओलीको भनाइ छ।
दक्षिणपन्थी अवसरवादलाई परास्त गर्दै अघि बढ्नुपर्ने अवस्था आएको ओलीको भनाइ थियो। नेपालमा देशभक्तिपूर्ण युद्ध र लोकतन्त्रका लागि धेरै लडाइँ भएको भन्दै उनले अग्रगामी परिर्वतनको यात्रामा संलग्न सबैलाई सम्झेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।