काठमाडौं- नेकपा (एमाले)ले आफ्नो पहिलो महाधिवेशन सुरु गरेको छ। शुक्रबार ललितपुरको गोदावरीस्थित 'सनराइज सम्मेलन केन्द्र'मा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गरिरहेका छन्। प्रस्तावमा उनले पार्टी विभाजनका सन्दर्भमा आफ्ना पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका छन्। 'विभाजनका मुख्य योजनाकार माधव नेपाल नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वका विरुद्ध अन्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न थिए,' राजनीतिक प्रस्तावमा भनिएको छ, '२०७२-७३ मा सञ्चालित नेकपा (एमाले) नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार थिए।'
दश बुँदे प्रस्तावको कार्यान्वयन र पार्टी एकता जोगाउन प्रदर्शित अधिकतम लचकताका बाबजुद माधव नेपाल हरहालतमा पार्टी विभाजन गरी छाड्ने योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तरसंघर्षमा उनको साथमा रहेकाहरुले उनलाई छाडेको ओलीको भनाइ छ। 'यो स्वागतयोग्य निर्णय हो,' उनको भनाइ छ।
ओलीले नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई समूह भनेका छन्। 'सविधान, दलीय प्रणाली र संसदीय अभ्यासको धज्जी उडाउँदै जारी भएको अध्यादेशले केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनैमा २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न पाउने बाटो खोलेपछि नेकपा (एमाले) बाट अलग्गिएर केही व्यक्तिहरूले नेकपा (एकीकृत समाजवादी) नामको समूह गठन गरेका छन्,' ओलीको भनाइ छ।
ओलीले एकीकृत समाजवादीको कुनै सैद्धान्तिक, राजनीतिक या नीतिगत कारण, आधार नभएको भन्दै विभाजनको पनि कुनै औचित्य नभएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।