फाइल तस्बिर
काठमाडौं– दक्षिण एसियाली राष्ट्रबीच हुने फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज (शुक्रबार)बाट सुरु हुँदैछ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने प्रतियोगितामा पाँच देश सहभागी छन्।
प्रतियोगितामा आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ।
लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन्। लिगको शीर्ष दुई टोलीबीच उपाधिका लागि असोज ३० मा फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको पहिलो दिन शुक्रबार दुई खेल हुँदै छन्। पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन् भने दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।साफमा नेपालको सबैभन्दा उत्कृष्ट नतिजा सेमिफाइनल हो।
नेपाली टोली उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी भएको नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बताउँछन्।
मालेमा बिहीबार आयोजित प्रि–म्याच कन्फरेन्समा कप्तान किरणले माल्दिभ्समा कुनैपनि टिमसँग नडराउने र उत्कृष्ट नतिजाका लागि मैदानमा लड्ने बताए।
कप्तान किरणले नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको र नतिजाका लागि अन्तिमसम्म प्रतिस्पर्धा गर्ने बताए।
माल्दिभ्स जानु अघि नेपाली टिमले कतारमा विशेष तयारी गरेको थियो। नेपालले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपालले ७–२ को हार व्यहोरेको थियो।
त्यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले भारतसँग १–१ को बराबरी खेल्दा दोस्रो खेलमा २–१ को हार व्यहोरेको थियो
प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १८ गते खेल्नेछ भने भारतसँग असोज २४मा तेस्रो खेल खेल्नेछ। नेपालले लिग चरणको अन्तिम खेलमा असोज २७ गते बंगलादेशसँग खेल्नेछ।
नेपाली टिम– किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल,आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा, रोहित चन्द।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।