काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेता–कार्यकर्ताहरुले पैसा र कमिसनका निम्ति दलाल पुँजीपतिहरुसँग साँठगाँठ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
हिजोको क्रान्तिकारी इतिहास भएपनि अहिले क्रान्तिकारीपनामा ह्रास आएको प्रचण्डको टिप्पणी छ। पार्टी निटक विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'हामी हिजो सामाजिक रुपान्तरणका निम्ति, क्रान्तिका निम्ति, परिवर्तनका निम्ति जनतासँग एकाकार भएर काम गर्ने गर्थ्यौं। अहिले काम गर्ने शैलीमा श्खलित भएका छौं।'
प्रचण्डले आफूहरु पनि विस्तारै थाहा नपाइ अरु पार्टीजस्तै हुँदै जाने खतरा बढेको पनि बताए।
'पदको निम्ति, पैसाको निम्ति, कमिसनको निम्ति दलाल पुँजीपतिसँग साँठगाँठ गर्न थालियो। उनीहरुको हितको निम्ति संवेदनशील हुने। आफ्ना वर्ग, शहीद, वेपत्ता अपाङ्ग विस्तारै विर्सन थाल्यौं,' प्रचण्डले भने।
प्रचण्डले आफूहरुले सोचेको जस्तो क्रान्ति पनि नभएको र त्याग तथा बलिदान खेर पनि नगएको टिप्पणी गरे। जनयुद्ध, जनआन्दोलनसहित एउटा 'युगिन समय' ल्याउन आफूहरु कारक बनेको प्रचण्डले दाबी गरे।
बलिदानीपूर्ण संघर्षबाट एउटा विरासत खडा गरेको उल्लेख गर्दै प्रचण्डले अब त्यो विरासतलाई लिएर अगाडि बढ्ने वा आत्मसमर्पण गरेर अरुजस्तै 'खत्तम' हुने भन्ने विकल्प मात्रै बाँकी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।