काठमाडौं– नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि सान्दर्भिक रहेको बताएका छन्। एमालेको पाँचौं महाधिवेशनबाट अगाडि सारिएको जबज र त्यसका लक्षित कार्यक्रमहरु अहिले पनि उत्तिकै सान्दर्भिक र क्रान्तिकारी रहेको बादलको टिप्पणी छ।
शुक्रबारदेखि सुरु हुने एमालेको पहिलो विधान महाधिवेशनको तयारीका सन्दर्भमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा थापाले भने– 'जबजको कार्यक्रम भनेको त्यसबेला एउटा जनवादी कार्यक्रम थियो। समाजवादमा संक्रमण गर्ने कार्यक्रम पनि थियो।'
तत्कालीन अवस्थामा जबजले तीनवटा कार्यक्रमका विशेष रुपहरुलाई अघि सारेको पनि थापाले जिकिर गरे। 'जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि, गणतन्त्रको स्थापना गरिसकेपछि सामन्तवादका अवशेषहरु अन्त्य गर्ने कार्यक्रमहरु लागू गर्नुपर्छ भन्ने मान्यता त्यतिबेला नै थियो,' थापाले भने, 'क्रान्तिका उपलब्धिलाई सुदृढ गर्ने र नेपाललाई द्रुत गतिमा विकास गर्ने कार्यक्रम राष्ट्रिय पूँजीको विकास गर्ने, एकैचोटी समाजवादी कार्यक्रम लागू गर्न सक्दैनौं, जान सक्दैनौं। त्यसैले समाजवाद अगाडि बढ्नका लागि त्यसको पूर्वाधार विकास गर्नु जरुरी हुन्छ। भौतिक आर्थिक पूर्वाधार विकास गर्नु जरुरी हुन्छ। त्यतिबेला जबजले अगाडि सारेका कार्यक्रम अहिले पनि सान्दर्भिक छन्।'


नेता थापाले समाजवादको निर्माण गर्ने शिलशिलामा जबजले अगाडि सारेका कार्यक्रमलाई दृढतापूर्वक लागू गर्न जरुरी रहेको पनि बताए । 'तत्कालीन नेकपाको सरकारले यही कार्यक्रमलाई लागू गर्न अठोट गरेको थियो। ठोस नाराको रुपमा समृद्ध नेपाल, सुखी नेपाली भनेर अघि बढाइएको थियो,' थापाले भने।
पार्टीको मार्गदर्शक सिद्धान्त र जबजको परिमार्जनका विषयमा बोल्दै थापाले सिद्धान्त र विचार गतिशील वस्तु भएकाले एक ठाउँमा जडसुत्रका रुपमा नरहने बताए।
'जबजको विचार भनेको जनवादी क्रान्तिलाई पथप्रदर्शक गर्ने विचार थियो। मदन भण्डारीले प्रस्तुत गरेको सिद्धान्त र विचार भनेको विचारधारा थियो। विचारहरुको श्रृङ्खलालाई सिद्धान्त भनिन्छ,' थापाले भने, 'नेपाली क्रान्तिलाई पथप्रदर्शक गर्ने विचार जबज सहि थियो भन्ने कुरा जनवादी क्रान्ति सम्पन्न हुनुबाट नै साबित हुन्छ। जनवादी क्रान्ति भइसकेपछि त्यो विचार अब परिकल्पनाका रुपमा हुँदैन।'
नेपालको 'जनवादी क्रान्ति'लाई पथप्रदर्शक गर्ने सिद्धान्त जबज वा मार्क्सवाद जे भने पनि नेपालको मामिलामा त्यो सहि साबित भएको थापाले दाबी गरे। 'त्यो सम्बृद्धिकरणलाई नयाँ पदावलीका रुपमा अघि बढाउनुपर्छ, जबजलाई नयाँ रुपमा अघि बढाउनुपर्छ भन्ने पार्टीभित्र बहस छ,' थापाले भने।
नेता थापाले अहिले गरिएको व्याख्यालाई जबज अथवा नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तको विकासको रुपमा बुझिनुपर्ने बताए। 'यो नै सिद्धान्तको विकास र समृद्धि हो भन्ने हो। त्यस कारण यसलाई जबजकै रुपमा निरन्तरता दिने वा नयाँ रुपमा सम्प्रेषण गर्ने भन्ने कुरा पार्टीभित्र बहसमा छ,' थापाले भने, 'समाजवादी क्रान्तिको पथ पदर्शक सिद्धान्तलाई मदन विचार भन्नुपर्छ कि मदनवाद भन्ने बहस छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।