काठमाडौं- माल्दिभ्समा दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको खेल तालिकामा केही फेरबदल गरिएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शुक्रबार सुरु हुने प्रतियोगिताको खेल तालिकामा फेरबदल गरेको हो।
आयोजकका अनुसार यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्घाटन खेल हुने तय थियो। तर, उद्घाटन खेल भने श्रीलंका र बंगलादेशबीच हुने भएको छ।
बंगलादेश र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ।
नेपाल र माल्दिभ्सले त्यही दिन नेपाली समय अनुसार राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछन्।
यसपटक प्रतियोगितामा ५ राष्ट्रको मात्र सहभागिता रहने भएकोले राउन्ड रोबिन लिगका आधारमा च्याम्पियनसिप हुने छ। भुटानले कोभिड–१९ का कारण ‘ट्राभल रेस्ट्रिक्सन’ले गर्दा सहभागिता जनाएन भने पाकिस्तान फिफाको प्रतिबन्धमा छ।
राउन्ड रोबिनमा सबै टोलीले ४ खेल खेल्नुपर्ने आयोजकले जनाएको छ। नेपाल र आयोजक माल्दिभ्सलले ४ मध्ये ३ खेल राति र एक खेल दिउँसो खेल्ने बताइएको छ। भारत, श्रीलंका र बंगलादेशले दिउँसो र राति समान २ खेल खेल्नेछन्।
असोज १८ गते पहिलो खेल बंगलादेश र भारतबीच हुनेछ। दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ।
असोज २१ गते भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। असोज २४ गते राति ९ः४५ बजे नेपाल र भारतबीच खेल हुनेछ ।
अन्तिम दिन असोज २७ गते दिउँसो नेपाल र बंगलादेश तथा राति भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। राउन्ड रोबिनका शीर्ष २ टोलीले असोज ३० गते राति ८ः४५ बजे उपाधिका लागि खेल्नेछन्।
आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बंगलादेश र श्रीलंकाले १२औं संस्करणको साफ खेल्दैछन्। २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन।
पछिल्ला चारमध्ये तीन संस्करणको सेमिफाइनल खेलेको नेपाल तीनैपटक सेमिफाइनलबाट गह्रुंगो मन लिएर घर फर्किनु परेको थियो।
१९९३ को पहिलो संस्करणमा चार टिमले प्रतिस्पर्धा गर्दा नेपाल तेस्रो भयो। त्यसपछि १९९५ र १९९९ मा सेमिफाइनल पुगे पनि त्यसभन्दा अगाडि बढ्न नै सकेन। त्यसपछि पनि नेपाल सहभागितामा मात्रै सीमित छ।
नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी पाएयता कुवेती ‘प्रो लाइसेन्स’ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप जित्न नसकेको तथ्यलाई बदल्न खोजेका छन्।
प्रशिक्षक अल्मुताइरी शुक्रबारदेखि माल्दिभ्समा सुरु हुन लागेको १३औं संस्करणको साफको यो इतिहासलाई सुधार गर्न चाहन्छन्। उनी सकेसम्म उपाधि नै जित्ने, त्यसो नभए कम्तीमा फाइनल भए पनि पुग्ने लक्ष्य रहेको सुनाउँदै आएका छन्।
यसपटक फाइनल पुग्नका लागि कम्तीमा पनि तीन टिमलाई पछि पार्नुपर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।