काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसद्मा जारी अवरोध खुलाउन चाहेको हो भने प्रधानमन्त्री र सभामुखले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुपर्ने माग गरेको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमाले सांसद एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले ओलीसँग व्यक्तिगत रुपमै भेटेर छलफल गर्नुपर्ने बताए।
उनले एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्मा उभिरहने समेत बताए।
‘तपाईंहरूले साँच्चिकै अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रुपमै भेट्नुहोस्, ज्ञानेन्द्रबहादुर कार्कीलाई सिधै तपाईंको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्नुहोस् किन निहुँ खोज्नुहुन्छ भनेका थियौँ’, उनले भने, ‘नेकपा एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्मा उभिरहन्छ। संविधान, कानुन मिचेर बनाइएको र सरकारमा समावेश भएको दललाई मान्यता दिइएको बैठकमा हामी जाँदैनौँ।’
अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको सन्तानजस्तो भएको टिप्पणी पनि गरे।
त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाले एमालेका मुद्दालाई सम्बोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए।
उनले एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरूविरुद्ध रहेको बताए। भट्टराईले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसद्मा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिनु कानुन, संविधान र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए।
प्रमुख सचेतक भट्टराईले एमालेसँग मात्रै छलफल गर्न आवश्यक रहेको भन्दै छलफलमा अन्य दल बोलाउन नपर्ने बताए। प्रधानमन्त्री र सभामुखले एमालेका संसदीय दलका नेतासँग मात्रै संवाद गरे आफू छलफलमा बस्न तयार रहेको पनि उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।