काठमाडौं– परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सुरक्षाकर्मीलाई उचित सम्मान र नेतृत्वदायी भूमिका दिनुपर्ने विषय उठाएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर बिहीबार स्वदेश फर्किएका मन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघको शान्ति मिसनमा योगदान गर्ने चौथो ठूलो राष्ट्र भएको हुनाले नेपालका सुरक्षाकर्मीलाई उचित सम्मान गर्नुपर्ने र उच्च पद दिनुपर्ने कुरा उठाएको बताए।
महासभा बैठकको सम्बन्धमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले आफूले महासभाको बैठकमा कोभिड १९ को प्रभावबाट विश्वलाई मुक्त गर्नको लागि सबै राष्ट्रहरुलाई खोप, औषधी उपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको बताए।
त्यस्तै, जलवायु परिवर्तनले नेपालको हिमालय श्रृङ्खलामा ल्याएको परिवर्तनबारे विश्व सचेत हुनुपर्ने, दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपालजस्तो राष्ट्रलाई सहयोग प्रदान गर्नुपर्ने लगायतको विषय आफूले सम्बोधनका क्रममा उठाएको उनले बताए।
त्यसैगरी, विश्वमा आतंकवादको खतरा मुक्त गर्न साझा कार्यक्रम अघि बढाउनुपर्ने तथा शक्ति राष्ट्रहरु हातहतियारको होडवाजीबाट मुक्त भएर हातहतियारमा लगानी गर्ने स्रोत साधन कम विकसित र विकासोन्मुख राष्ट्रको हितमा प्रयोग गर्नुपर्ने कुरा सशक्त रुपमा उठाएको पनि मन्त्री खड्काले जानकारी दिए।
उनले भारत, बंगलादेश, बहराइन, कुवेत, मालदिभ्सका परराष्ट्र मन्त्रीहरुसँग द्विपक्षीय हितका विषयमा कुरा गरेको तथा विचार आदान प्रदान गरेको पनि बताए।
मन्त्री खड्काले नेपालले राष्ट्रसंघको महासभामा सशक्त र जोडदार रुपमा मुद्दाहरु उठाएको भन्दै ती मुद्दाहरु संयुक्त राष्ट्रसंघमा अभिलेखित हुनेमा विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।