काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित भएर गैरलोकतान्त्रिक चरित्र देखाएको सत्ता पक्षले आरोप लगाएको छ। बिहीबार विहान बालुवाटारमा बसेको बैठकमा एमाले अनुपस्थित भएको थियो।
प्रमुख प्रतिपक्ष एमालेले संसद अवरुद्ध गर्दा थुप्रै विधेयक पारित हुन नसकेपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। एमालेले संसद अवरुद्ध गर्दा प्रतिनिधि सभामा ३३ र राष्ट्रिय सभामा २७ विधेयक पारित हुन सकेको छैनन्।
‘एमालेले लगातार संसद अवरुद्ध गर्दा संसदले प्रभावकारी काम गर्न सकेको छैन। संसद् अवरुद्धको गाठो फुकाउन प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठक बोलाउनु भएको थियो,’ बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले भनिन्, ‘एमालेले नै सर्वदलीय बैठक बहिष्कार गरेपछि औचित्य भएन। फेरि अर्को पटक एमालेलाई बैठकमा सहभागी हुन आग्रह गर्छौं। यदी पटक/पटक आग्रह गर्दापनि सर्वदलीय बैठक एमालेले बहिष्कार गरे त्यो विषय जनता कहाँ पुर्याउने भन्ने छ।’
जतिसुकै असहमति भएपनि सर्वदलीय बैठक बहिष्कार गरेर एमालेले गैरलोकतान्त्रिक चरित्र देखाएको धारणा बैठकका क्रममा नेताहरुले राखेको पौडेलले जानकारी दिइन्।
असहमति भएपनि सर्वदलीय बैठकमा एमाले उपस्थित भएर आफ्ना कुरा राख्नु पर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो।
संसद अवरुद्ध हटाउन देउवाले आफू निकट नेताहरुलाई एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पठाइरहेका छन्। तर, एमाले अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन्।
प्रमुख प्रतिपक्षी एमालेलाई फुटाउने गरि सरकारले अध्यादेश ल्याएको भन्दै ओलीले सरकारको आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।