काठमाडौं– यूईएफए च्याम्पियन्स लिगमा साविक विजेता चेल्सीलाई पराजित भएको छ। इटालियन क्लब युभेन्ट्सले चेल्सीलाई १–० ले पराजित गरेको हो।
घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दबाब बढाए पनि फिनिसिङमा चुक्दा चेल्सीले समूह चरणमा पहिलो हार बेहोर्यो। एलिएन्ज एरिना टुरिनमा बुधबार राति सम्पन्न खेलको सातौ मिनेटमा रोमेलु लुकाकुको प्रहारलाई युभेन्ट्सका गोलरक्षक वजनिएस सिजेस्नीले बचाउँदा चेल्सीले अग्रता लिन सकेन।
खेलको दोस्रो हाफको सुरुमै फेडरिको चिइसाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए। उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए।
यो जितपछि युभेन्ट्स समूह ‘एच’ मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित चेल्सी ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा जेनिथ सेन्ट पिटसवर्गले १० खेलाडीमा समेटिएको माल्मोमाथि ४–० को फराकिलो जित निकालेको छ। जेनिथको जितमा क्लाउडिनो, डालेर कुजाएभ, एलेकसेइ सुटोरमिन र वेन्डेलले गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।