काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे सर्वदलीय बैठक बोलाएका छन्।प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे बस्ने बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि बैठक बोलाएका थिए। तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।
संघीय संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।