काठमाडौं– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गतराति सम्पन्न खेलमा बार्सिलोना पराजित भएको छ। पोर्चुगिज क्लब बेन्फिकासँग बार्सिलोना ३–० ले पराजित भएको हो।
बेन्फिकाको जितमा डार्विन नुनेजले दुई तथा राफा सिल्भाले एक गोल गरे। लिसोवा बेन्फिकामा बुधबार राति भएको खेलमा घरेलु टोली बेन्फिकाले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो। डार्विन नुनेजले जुलियन वेगलको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
घरेलु टोलीविरुद्ध बल पोसेसन दवाव बढाएपनि बार्सिलोनाले फिनिसिङ गर्न चुक्दा पराजित भएको हो।
खेलको ६९औं मिनेटमा राफा सिल्भाले जोओ मारियोको पासमा गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे। ७९औं मिनेटमा डार्विन नुनेजले पेनाल्टीमा गोल गर्दै बेन्फिकाको जित पक्का गरे। गिल्बर्टाेको प्रहारलाई पेनाल्टी बक्समा सर्जिनो डेस्टले हातले छोएको भन्दै रेफ्रीले भिएआरको सहयाता लिँदै बेन्फिकालाई पेनाल्टी प्रदान गरेको थियो।
निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा एरिक गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोनाको जित टाढिएको थियो।
लिगमा बेन्फिकाको यो पहिलो जित हो। बेन्फिका पहिलो खेलमा डिनामो किएभसँग गोलरहित बराबरी खेलेको थियो। बार्सिलोनाको भने यो दोस्रो हार हो। यसअघि बार्सिलोनाले बायर्न म्युनिखसँग ३–० कै हार बेहोरेको थियो।
जितसँगै बेन्फिका समूह ‘ई’ मा दुई खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।