काठमाडौं – एएफसी एसिया कप २०१९ छनोट अन्तर्गत समूह 'एफ' दोस्रो चरणको पहिलो खेलमा नेपालले २४ असोजमा ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। खेल ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा हुनेछ।
ताजकिस्तानबिरुद्धको खेलका लागि नेपालले मंगलबारदेखि पुन: प्रशिक्षण थालेको छ। यसअघि दशैंका कारण नेपाली टिमको प्रशिक्षण स्थगित गरिएको थियो। प्रशिक्षणको लागि गोलकिपर किरण कुमार लिम्बु तथा रोहित चन्द पनि नेपाल फर्किएका छन् । किरण माल्दिभ्स तथा रोहित इन्डोनेसियाबाट ब्यवसायिक खेल खेलिरहेका छन्।
एसिया कपमा छनोट हुन नेपालका लागि ताजाकिस्तानसँगको खेल महत्वपूर्ण छ। ताजकिस्तानलाई हराउन सके मात्र नेपालको एसिया कपमा छनोट हुने आसा जीवितै हुनेछ।
समूह 'एफ' पहिलो चरणका तीन खेल सकिदा नेपाल जितबिहीन छ। नेपाल फिलिपिन्सबिरुद्धको पहिलो अवे खेलमा ४–१ ले पराजित भएको थियो। नेपालले हेम खेलमा यमनसँग १–१ को बराबरी खेलेको थियो। एक महिनाअघि एन्फा कम्प्लेक्समा भएको तेस्रो खेलमा नेपाललाई ताजकिस्तानले २–१ ले हराएको थियो।
पहिलो चरणका खेल सकिदा तीन खेलबाट १ अंक जोडेको नेपाल समूह 'एफ' को अंक तालिकाको पुछारमा छ। शीर्ष स्थानको फिलिपिन्सले ७, दोस्रो स्थानको यमनले ५ तथा तेस्रो स्थानको ताजकिस्तानले ३ अंक जोडेका छन्।
समूहका शीर्ष २ टिम यूएइमा हुने एएफसी एसिया कप २०१९ मा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।