जलेश्वर- मैथिल र थारु समुदायका महिलाले जितिया पर्व मनाइरहेका छन्। तीन दिनसम्म मनाउने जितिया पर्व अन्तर्गत आज साँझ व्रत समापन गरिन्छ।
यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ। मैथिल र थारु समुदायका महिलाले मंगलबार बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी बुधबार साँझ व्रत सम्पन्न गर्नेछन्।
व्रतालुले हिजो बिहान चार बजे ओंगठन (दही चिउरा सक्खर सहितको प्रसाद खाएर) खाएर आज साँझ पाँच बजेसम्मका लागि उपवास सुरु गरेका छन्।
उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ। एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न नपाउने प्रचलन रहेको छ।
व्रत बस्नु अघिल्लो दिन अर्थात सोमबार व्रतालुले विभिन्न जलाशयमा स्नान गरी भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ देवतालाई चढाएका थिए।
देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ। सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ को सो दिनलाई नहा खा (नुहाएर खानु) भनिन्छ।
सो दिनको पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ। त्यसैगरी विधिअनुसार मंगलबार एका बिहानै काग कराउनुभन्दा पहिल्यै व्रतालु महिलाहरुले ओंगठन सम्पन्न गरेको अर्थात केही खानेकुरा ओठमा लगाएका छन्।
प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ। त्यसपछि शुरु हुन्छ कठिन उपवासको क्रम।
आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको पुजारी पाठकले बताए।
सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ।
मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ।
उपवास क्रममा मंगलबार दिनभरि, रातभरि र आज दिनभरि व्रतालु महिलाले अन्न जल केही पनि ग्रहण नगरी उपवास बस्ने र भगवान ‘जिमतुवाहन’ को पूजाअर्चना र कथा वाचन र श्रवण गर्ने काममा व्यस्त रहनेछन्।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ।
प्रदेश नम्बर २ सरकारले जितिया पर्वको अवसरमा असोज १३ गते बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।