काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन्।
च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो।
अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो। अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ। अनुभवी डिफेन्डर विराजले यसअघि न्युरोड टिम (एनआरटी), थ्री स्टार, संकटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन्।
यस्तै च्यासलले स्कटल्याण्डका ली मान्सनलाई आजैको पत्रकार सम्मेलनबाट प्राविधिक निर्देशक नियुक्त गरेको छ। पछिल्लोपटक लाओस एफसीको प्राविधिक निर्देशकको रुपमा काम लीलाई क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि नियुक्त गरेको हो।
मंगलबारै च्यासल युथ क्लबलाई खेलकुद सामग्री उत्पादक कम्पनी युक्यानले प्रायोजन गर्न क्लबसँग सम्झौता गरेको छ। चिनियाँ ब्राण्ड युक्यानले मंगलबार च्यासललाई एक वर्षको लागि प्रायोजन गर्ने सम्झौता गरेको हो। च्यासलका अध्यक्ष रमेश व्यञ्जनकार र युक्यानका निर्देशक राजेन महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतासँगै युक्यानले च्यासललाई सहिद स्मारक ए डिभिजन लिगमा किट्स उपलब्ध गराउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।