काठमाडौं- नेकपा एमालेभित्रको विवाद समाधानका लागि उपाध्यक्ष भीम रावलको नेतृत्वमा एक कार्यदल गठन भएको छ।
सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरेको स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए।
१० बुँदे सहमति कार्यान्वयनको विषयलाई लिएर एमालेभित्र विवाद छ। रावलले एमालेलाई २ जेठ २०७५ मा फर्काउने सहमतिअनुसार आफू नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने माग राखेका छन्।
तर, अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनपछि एमालेमा रहेका लेखराज भट्ट नै इन्चार्ज कायम रहेको बताएका छन्। आइतबार सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकमा पनि यस विषयमा कुरा उठेको थियो।
माधवकुमार नेपालले पार्टी विभाजन गर्दा रावलसहित नेपाल पक्षमा रहेका बहुमत स्थायी कमिटी सदस्यहरु १० बुँदे सहमति कार्यान्वयन गर्ने शर्तमा एमालेमै रहेका थिए।
त्यसअघि एमालेभित्रको विवाद समाधान गर्न नेपाल पक्षबाट रावल र ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा कार्यदल बनाइएको थियो। कार्यदलले एमालेलाई २ जेठ २०७५ को अवस्थाबाट अघि बढाउने लगायतका सहमितको प्रस्ताव तयार पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।