काठमाडौं– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद् छिट्टै विस्तार हुने बताएका छन्। पूर्वमन्त्री समेत रहेका लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागि परेको दाबी गरे।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विभिन्न राजनीतिक दलहरूको वैधानिकताले गर्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए।
‘मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा यो सरकारमा संलग्न हुने सबै राजनीतिक दलका मुख्य नेताहरूका बीचमा संवाद भइरहेको छ। छलफल भइरहेको छ। र, चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु’, उनले भने, ‘चाँडै गर्नुपर्छ। त्यसमा प्रधानमन्त्रीजी गम्भीर हुनुहुन्छ।’
नेता लेखकले पार्टीको आसन्न १४औं महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुने दाबी समेत गरे। उनले दशैंअघि नै देशभरका सबै वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गर्नेगरि काम भइरहेको पनि जानकारी दिए।
‘दशैंअघि नै ७७ वटै जिल्लामा वडा र पालिका अधिवेशन भइसक्नेछन। अधिकांश वडा र पालिकाको अधिवेशनहरू सम्पन्न भइसकेका छन्। समयमै महाधिवेशन हामी गर्नेछौं भन्ने म यहाँहरूलाई आग्रह गर्न चाहन्छु’ लेखकले भने।
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन मंसिर ९–१३ गते काठमाडौंमा तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।