काठमाडौं- नेकपा माओवादी केन्द्रले यसअघि मन्त्री नभएकालाई प्राथमिकता दिएर सरकारमा पठाउने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ।
त्यसमध्ये अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन्। यस्तो हुँदा अब देउवा सरकारमा माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री थप हुनेछन्।
अब हुने मन्त्रीमा यसअघि मन्त्री नभएका सांसदले अवसर पाउने एक स्थायी समिति सदस्यले बताए। स्थायी समिति सदस्य देवेन्द्र पौडेल मन्त्री हुने पहिलो लिस्टमा छन्। उनी लगभग मन्त्री हुने निश्चित जस्तै छ।
स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ पक्षबाट श्रेष्ठ आफैं सरकारमा जान खोजेका थिए। तर, प्रतिनिधि सभा चुनाव हारेका उनी सरकारमा गएमा राम्रो सन्देश नजाने भएपछि अञ्जना विशंङखे र शशी श्रेष्ठमध्ये एक जनालाई सरकारमा पठाउने तयारी रहेको ती स्थायी समिति सदस्यले बताए।
सबै समुदाय र भूगोलको प्रनिधित्व गराउनुपर्ने भएकाले सुदन किराती, महेश्वर गहतराज ‘अथक’लाई पनि मन्त्री बनाउने तयारी छ। यस्तै, मधेशी र थारु समुदायबाट प्रनिधित्व गराउनु पर्ने भएमा अमनलाल मोदी र सन्तकुमार चौधरी पनि मन्त्रीका दाबेदार हुन्।
यसअघि मन्त्री भइसकेका नेताबाट सरकारमा गएमा स्थायी समिति सदस्य हरिबोल गजुरेल, मातृका यादव र देव गुरुङ हुन सक्ने अर्का एक केन्द्रीय सदस्यले बताए। राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएमा मंगलबार मन्त्रिपरिषद् विस्तार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।