काठमाडौं- अर्को सातादेखि सुरु हुने साफ च्याम्पियनसिप २०२१ का लागि नेपाली टोली माल्दिभ्स प्रस्थान गरेको छ।
लगभग दुई साता कतारको दोहामा प्रशिक्षण गरेपछि नेपाली टोली उतैबाट सोमबार माल्दिभ्सको राजधानी माले प्रस्थान गरेको हो।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङलाई बाहिर राख्दै टोली घोषणा गरेका थिए।
प्रशिक्षण क्रममा चोट बोकेपछि विकेश अन्तिम टोलीमा पर्न सकेनन्। साफ च्याम्पियसिप तयारीका लागि आइतबार नेपालले ओमानविरुद्ध मैत्री खेल खेलेको थियो। सो खेलमा नेपाल ओमानसँग ७–२ को फराकिलो गोल अन्तरले पराजित भएको थियो।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ। त्यस्तै, तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ।
अन्तिम टोली :
किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नीतिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।