फाइल तस्बिर।
काठमाडौं– सत्ता साझेदार दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसद्लाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसद्मा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरे।
सोमबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद् अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए।
अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौं भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्याए।
‘जसले संसद्लाई २/२ चोटी विघटन गर्छ। ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने? सर्वोच्चको फैसला मान्दैनौं भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने?’, भट्टराईले भने, ‘जुन संसद्लाई विघटन गरिसक्यो, उसले त्यो संसद्मा आउन त लाज हुनुपर्ने हो। मैले पार्टी छोडिपछि दोस्रो संविधानसभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिँए। उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ।’
भट्टराईले एमालेले आफैंले विघटन गरेको संसद्मा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।