काठमाडौं– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन्।
महामन्त्री कोइरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। सोमबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा यस्तो बताए।
‘उनीहरुले के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरु छन्, उनीहरुलाई निष्कासन गर्नुस्। त्यो त सभामुखले गर्न सक्नु हुन्न। यसैमा विरोध भइरहेको छ’, उनले भने, ‘हाम्रो धारणा के हो भने अब विधेयक आइसकेको छ। २० प्रतिशतले टुक्र्याउन चाहन्छ भने टुक्रिन्छ।’
महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।