काठमाडौं– नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन निम्तिएको समस्यामध्ये ९० प्रतिशत समस्या समाधान भइसकेको बताएका छन्। अब एक दुई जिल्लामा मात्रै समस्या बाँकी रहेको उनको भनाइ छ।
सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा कुरा गर्दै उनले समस्या भएको ठाउँमा कार्यदलले काम गरिरहेको बताए। 'विधान महाधिवेशनभन्दा अगाडि त्यो पनि समस्या समाधान हुन्छ', उनले भने।
सुदूरपश्चिम प्रदेशका जिल्लाको समस्या पनि लगभग समाधान भइसकेको उनको भनाइ छ। सुदूरपश्चिमका पुरानो र नयाँ इञ्चार्जहरु भीम रावल र लेखराज भट्टबीचको विवाद पनि मिलाउने प्रयास भइरहेको उनको भनाइ छ।
'उहाँहरुबीच समझदारी कायम गर्नुपर्छ। एउटाले त ठाउँ छाड्नुपर्यो। त्यसो गर्दा इञ्चार्जभन्दा पनि सम्मानित ठाउँ दिएर मिलाउने प्रयास गरिरहेका छौं', उनले भने, 'त्यसमा दुईटै नेता राजी हुनुपर्यो। मेरो गोरुको बाह्रै टक्का भनेर समस्या समाधान हुँदैन। त्यसका लागि उच्चस्तरीय कार्यदलको पहलमा अध्यक्षले टुंग्याउनुहुन्छ।'
एमाले विभाजनका बेला मूल पार्टीतिर रहेको भए पनि असार २७ गते भएको १० बुँदे प्रस्तावअनुसार रावलले सुदूरपश्चिमको इञ्चार्जको जिम्मेवारी पाएका छैनन्। त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका लेखराज भट्टराईलाई जिम्मेवारी दिएका छन्। जसका कारण विवाद देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।