फाइल तस्बिर।
काठमाडौं- प्रतिनिधि सभाको सोमबारको बैठक पनि एमालेले अवरोध गर्यो। अवरोधका बीच सोमबारको बैठक करिब ६ मिनेट बसेर स्थगित भएको थियो। अर्को बैठक असोज १४ गते बस्नेछ।
बैठकको सुरुमै एमाले सांसदहरू बेल घेराउ गर्न पुगेका थिए। उनीहरूले सधैंझै नाराबाजी सुरु गरेका थिए। सभामुखले भने बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरे। तर, नाराबाजी जारी रह्यो। त्यसपछि सभामुखले राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए। त्यस्तै, राष्ट्रिय सभाबाट प्राप्त सूचना पढ्न प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई समय दिएका थिए।
त्यसपछि बैठक सकियो। बैठकमा सहभागी सांसदहरू बाहिरिन थाले। तर, केही सांसदहरु भने त्यसपछि पनि संसद् भवन आइरहेका थिए।
करिब २:२० मा सुरु भएको बैठक ६ मिनेट जति चलेर स्थगित भएको थियो। तर, कांग्रेस सांसद अमरेशकुमार सिंह ठीक ३ बजे संसद् भवन छिरे। त्यसअघि कांग्रेसकै चित्रलेखा यादव, मिनाक्षी झा, एमालेका नवीना लामा, नारायण मरासिनी लगायतका सांसद पनि त्यसैगरी छिरेका थिए।
केही सांसदहरुले गाडी जाम भएका कारण बैठकमा आइपुग्न ढिला भएको बताएका थिए। 'कलंकीबाट यहाँ (नयाँ बानेश्वर) आइपुग्न डेढ घण्टा लाग्यो', मरासिनीले भने।
सोमबारको बैठकमा मात्रै होइन। ढिला आउने र हाजिर गर्ने गरेका कारण सांसदहरू आलोचित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।