काठमाडौं– प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो विरोधलाई कायम राखेको छ।
सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै एमाले सांसदहरुले आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका छन्।
सभामुख सापकोटाले दल विभाजनमा 'सहयोग' गरेको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आएका छन्।
सोमबारको बैठकमा भने एमाले सांसदहरुले नयाँ 'नारा' पनि लगाएका छन्। उनीहरुले 'कालो धनलाई वैधानिक बनाउन पाइँदैन' भन्दै नारा लगाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गरेर ल्याइएको बजेटमा सरकारले 'लगानीमा स्रोत नखोजिने' भनेर गरेको व्यवस्थाको एमाले सांसदहरुले विरोध जनाएका हुन्।
सरकारले कालो धनलाई वैधानिकता दिन लगानीको स्रोत नखोजिने व्यवस्था गरेको एमाले सांसदहरुको आरोप छ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको आर्थिक अध्यादेश २०७८ मा ‘आयकर ऐन, २०५८’ संशोधन गर्दै दफा ११ मा सुर्ती तथा मदिराजन्यबाहेकका उद्योगमा ‘लगानीको आयस्रोत खोजिनेछैन’ भन्ने व्यवस्था राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।