काठमाडौं- क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ। घरेलु मैदान नोउ क्याम्पमा आइतबार सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० ले पराजित गरेको हो।
बार्सीलोनाको जितमा मेम्फिस डिपाए, लुका डि जोङ र युवा फरवार्ड अन्सु फातीले एक/एक गोल गरे।
खेलको सातौ मिनेटमा डिपाएको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।मिरामोनको पासमा राडोजाले नियन्त्रणमा लिने प्रयास गर्दा भेट्न नसकेको बलमा डिपाएलाई फल गर्न पुगेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। जसलाई डिपाएले सदुपयोग गरे।
१४औं मिनेटमा डि जोङले सर्जिनो डेस्टको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट फातीले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए।
जितसँगै अपराजित रहेको बार्सिलोना ६ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। पराजित लेभान्टे ४ अंक जोडेर १७औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।