काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा गरेको प्रतिनिधि सभा विघटनलाई 'बाध्यात्मक कदम' भनेका छन्। जारी केन्द्रीय कमिटीको अन्तिम दिन आइतबार सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटन गर्नुका कारणहरु प्रस्तुत गरेका थिए।
'पार्टी विभाजनलाई जोगाउनका लागि, एकतालाई अक्षुण्ण राख्नका लागि, संसद्लाई गति दिनको निम्ति यो–यो परिस्थितिको बाध्यता स्वरुप प्रतिनिधि सभा विघटन गरेको भन्ने अध्यक्षको कुरा थियो', बैठकमा ओलीले भनाइबारे जानकारी दिँदै एमाले केन्द्रीय सदस्य पद्मा अर्यालले नेपाल लाइभसँग भनिन्।
उनका अनुसार संसद्ले कामै नगरेर समय र स्थान ओगटेर बस्न नसुहाउने ओलीको भनाइ थियो। अर्को जो आउँछ, उसले चलाउँछ भन्ने तर्क पनि ओलीले दिएका थिए। 'साथीहरुले कसैले के, कसैले के राख्ने कुरा त राख्न पाइन्छ। विचार भजाउन पनि पाइन्छ। तर बहुमतले जे पास गर्छ, त्यो हुने कुरा हो। त्यसैले आज प्रतिवेदनमा जे आएको छ। त्यो हलमा जान्छ। भोलि हलबाट जे पास हुन्छ, त्यो लागू हुन्छ', अर्यालले भनिन्।
ओलीले समूह छलफलबाट आएका महत्त्वपूर्ण विषयहरु पार्टीको निम्ति एउटा सम्पत्ति भएको बताएका थिए। 'त्यसले पार्टीको दस्तावेजलाई परिस्कृत गर्नका निम्ति, सुदृढीकरण गर्नका निम्ति सहयोगै पुग्छ। तसर्थ आएका महत्त्वपूर्ण सुझावहरुलाई हामीले समायोजन गरेर अगाडि बढ्छौं भनेर अध्यक्षले बैठकको समापन गर्ने क्रममा भन्नुभएको छ', अर्यालले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।