काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले संसद् विघटनलाई संविधान विपरीतको कदम भनिनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको जारी बैठकको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिइसकेपछि भुसालले केही मुख्य सवालमा फरक मत प्रस्तुत गरेका हुन्।
ओलीको जवाफपछि सदस्यहरुलाई आफ्नो धारणा राख्न भनिएको थियो। सोही क्रममा उनले भने, 'संसद विघटन संविधान विपरीत नै हो भनौं। यसलाई खराब नै हो भनेर जानुपर्छ।'
तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा भुसाल सोही मन्त्रिपरिषद्का सदस्य थिए। प्रतिनिधि सभा विघटनप्रति असन्तुष्टि जनाउँदै उनी सहित केही मन्त्रीले राजीनामा दिएका थिए। ओलीले जेठ ७ गते राति पनि प्रतिनिधि सभा विघटन गरेका थिए।
ओलीले आफ्नो प्रतिवेदन र जवाफ मार्फत संसद् विघटनलाई बाध्यताको कदम भनेर प्रस्तुत गरेपछि भुसालले असहमति जनाएका हुन्।
भुसालले जबज भनेको के हो, त्यसको पनि प्रष्ट व्याख्या हुनुपर्ने बताएका छन्। भुसाल जबजले अहिलेको कार्यभार पूरा गर्न नसकिने बताउँदै आएका छन्।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएर नेकपा गठन भएपछि उनले सार्वजनिक रुपमै जबजको च्याप्टर क्लोज भएको बताउने गरेका थिए।
केन्द्रीय कमिटी बैठकमा उनले समाजवादलाई पनि प्रष्ट पार्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।