काठमाडौं– चलत्रिच विकास बोर्डको स्टोरी बैंकमा फिल्मको पटकथा बुझाउने समय एक महिना बढाइएको छ। बोर्डमा फिचर र सर्ट फिल्मको पटकथा माग गरि असोज ८ सम्म बुझाउन भनिएको थियो। उक्त समयलाई थप एक महिना बढाइएको बोर्डका अधिकृत गिरिश शर्माले बताए।
गत भदौ १२ मा बोर्डले सूचना प्रकाशित गर्दै फिचर तथा लघु चलचित्रका पटकथा बोर्डमा बुझाउन भनेको थियो। हालसम्म बोर्डमा करिब ४० वटा पटकथा बुझाइएको छ। चलचत्रिकर्मीहरूले पटकथा बुझाउने समयावधि थोरै भएको भनेपछि उनीहरुकै आग्रहमा एक महिना समय थपिएको शर्माले बताए।
थपिएको समयमा सहभागी हुने पटकथाको संख्या बढ्नेमा बोर्ड आशावादी भएको उनी बताउँछन्। गत वर्षबाट सुरु भएको स्टोरी बैंकको अवधारणामा बोर्डले सहभागी भएका पटकथामा चलचित्र निर्माण गर्न सघाउने गरेको छ। गत वर्ष फिचर तथा लघु चलचित्र गरि ५ फिल्मलाई बोर्डले सहायता दिएको थियो। यो वर्ष भने ५ फिचर फिल्म र ५ सर्ट फिल्मलाई निर्माण सहायता गर्ने बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।