काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ।
केन्द्रीय सदस्य झपट रावलले केन्द्रीय कमिटीको बैठक सुरु भएको जानकारी दिए। आजको बैठकमा समूहगत छलफलपछि दिएको सुझाव र उठाएका प्रश्नमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने छन्। त्यस्तै, महासचिव ईश्वर पोखरेल र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने कार्यक्रम रहेको छ।
असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको एमालेको विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावका विषयमा केन्द्रीय कमिटीको बैठकमा छलफल भएको थियो।
त्यसमाथि छलफल गर्न दश वटा समूह बनाएर समूहगत छलफल भएको थियो। ती समूहले उठाएका विषयमा आज जवाफ दिने कार्यक्रम रहेको छ।
केन्द्रीय कमिटीको बैठकमा माधव नेपाललाई छोडेर एमालेमै रहेका नेताहरुले भने दश बुँदे सहमति अनुसार जेठ २ को अवस्थाबाट पार्टीलाई अगाडि नबढाइएको भन्दै असन्तुष्टि जनाएका छन्।
नेताहरुले उठाएका असहमतिका विषयमा केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठकमा छलफल गरिएको छ। केन्द्रीय कमिटीको बैठकले प्रतिवेदन पारित गरेपछि विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ। एमालेको केन्द्रीय कमिटी बैठकमा विधानमा पदाधिकारीहरुको संख्या बढाउनुपर्नेदेखि एकै व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी भूमिकामा बस्न नमिल्ने लगायतका थुप्रै विषयमा सुझाव दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।