फाइल तस्बिर।
काठमाडौं- सत्ता साझेदार दलहरूबीच राजनीतिक दलसम्बन्धी अध्यादेश एक/दुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच यस विषयमा सहमति भएको जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले जानकारी दिए।
‘मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा अब ढिलो गर्न नहुने भन्ने सहमति भएको छ,’ उनले नेपाल लाइभसँगको कुराकानीमा भने, ‘शीर्ष नेताहरुले भोलिसम्ममा सबै विषय टुंगो लगाउने भन्ने कुराकानी भएको छ।’
उनका अनुसार मन्त्रिपरिषद् विस्तारलाई छिटो टुंगोमा पुर्याएर सरकारको कामलाई गति दिने विषयमा नेताहरू सहमत भएका छन्। उनले भोलि वा पर्सिमा मन्त्रिपरिषद् बैठक बसेर अध्यादेश फिर्ता हुने र त्यसपछि थप प्रक्रिया अघि बढ्ने बताए।
उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने अडान राखेको थियो। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादी र जसपा तत्काल सरकारमा सहभागी नहुने स्थिति भए कांग्रेस र माओवादी केन्द्रको भागमा पर्ने मन्त्रालयमा मन्त्री नियुक्त गरेर भएपनि अघि बढ्न खोजेका थिए।
नेता यादवले आजको बैठकमा नेताहरूबीच मन्त्रालय भागबन्डा लगायतको विषयमा पनि कुराकानी भएको भन्दै भोलि नै धेरै कुरा टुंगिने जानकारी दिए। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ७६ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।