फाइल तस्बिर।
काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसिरहेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ।
स्थायी कमिटी बैठक बसेका कारण बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक अहिलेसम्म बस्न सेकेको छैन।
शुक्रबारदेखि एमाले केन्द्रीय कमिटी बैठक जारी छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि समूहगत छलफल भएको छ।
१० वटा समूह बनाएर गरिएको छलफलका निष्कर्ष टोली नेताले शनिबारको बैठकमा सुनाएका थिए। १० बुँदे सहमति कार्यान्वयनका विषयमा पनि नेताहरूले कुरा उठाएका छन्। खासगरी सुदूरपश्चिम प्रदेशका नेताहरूले यस विषयमा बैठकमा माग उठाएका हुन्।
सबै समूहले पदाधिकारी संख्या बढाउनुपर्ने, कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने सुझाव दिएका छन्। यस्तै, पार्टीलाई समावेशी बनाउनुपर्ने र उमेरहद लागू गर्ने/नगर्ने विषयमा मिश्रित सुझाव आएका छन्।
आज समूहबाट आएको सुझाव र निष्कर्षमा अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले जवाफ दिनेछन्। एमालेले यही असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।