फाइल तस्वीर
काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै छ। दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
साफको तयारीका लागि नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
यस अघि नेपालले घरेलु मैदानमै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो।
नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जानेछ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुँदै छ। नेपालले आफ्नो पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्दै छ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
नेपालले श्रीलंकासँग अक्टोबर ४ (असोज १८)मा दोस्रो तथा भारतसँग अक्टोबर १० (असोज २४)मा तेस्रो खेल खेल्नेछ। लिग चरणको अन्तिम खेलमा नेपालले अक्टोबर १३ (असोज २७)मा बंगलादेशमो सामना गर्नेछ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।