काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन्।
शनिबार मकवानपुर जिल्ला कार्यसमितिको शपथ ग्रहण तथा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने बताएका हुन्। उनले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनका लागि क्रियाशील हुने बताए।
‘नेकपा (एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ। यो देश हाँक्नेछ। यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउनेछ। हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो। जनताको सेवा गर्ने हो। देशको इज्जत र प्रतिष्ठा बचाउने हो,’ उनले भने।
अध्यक्ष नेपालले गठबन्धनका बीचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए। उनले गठबन्धनसँग मिलेर प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताए। ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ। प्रदेशमा पनि सामूहिक रुपमा सरकार चलाउन चाहान्छौँ। राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहान्छौँ। योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ,’ उनले भने।
उनले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुत रहेको बताए। आफूहरुले पार्टीलाई पहिलो बनाउन चाहेको पनि उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।