काठमाडौं- नेकपा (एमाले)मा कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने माग उठेको छ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निष्कर्ष सुनाउँदै लुम्बिनी प्रदेशका तर्फबाट दलबहादुर रानाले यस्तो सुझाव पेस गरेका हुन्।
एक सदस्य, एक पद, महिला लगायत समावेशीमा ध्यान दिनुपर्ने, दलाल पुँजीवादको प्रष्ट व्याख्या गर्नुपर्ने, मुलुकमा विकसित घटनाक्रमका बारेमा प्रष्ट हुनुपर्ने रानाले बताए।
संसद् विघटनको विषयमा प्रष्ट व्याख्या गर्नुपर्ने, आर्थिक तथा सामाजिक रुपान्तरणका खाका आउनुपर्ने, पार्टी जीवनमा देखा परेका विषयमा नेतृत्वले बोल्नुपर्ने, नेतृत्व हस्तान्तरणको विषयमा ध्यान दिनुपर्ने लुम्बिनी प्रदेश समूहमा कुरा उठेको छ।
'७० वर्षको विषयमा हाम्रो समूहमा हटाउनु पर्ने र राख्नुपर्ने विषय दुवै समेटिएको छ। केन्द्रीय कमिटी संख्या ३००, उपाध्यक्ष ७, स्थायी कमिटी ५५ हुनुपर्ने सुझाव हाम्रो समूहको रहेको छ', रानाले भने।
नेकपा बनाउँदाको एकीकरणको समीक्षा गरेर पुनः कम्युनिस्ट पार्टी एकीकरणको नेतृत्व लिनुपर्ने, जबजलाई थप व्याख्या गर्नुपर्ने, अहिले एमाले भएपनि नेकपा एकीकरणकै रुप हो भनेर प्रष्ट आउनुपर्ने समूहमा छलफल भएको उनले बताए। राजनीतिक नियुक्ति गर्दा सम्बन्धित जिल्लाको समन्वय हुनुपर्ने पनि माग उठेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।