काठमाडौं- तुल्सीलाल स्मृति प्रतिष्ठानले स्वर्गीय नेता तुल्सीलाल अमात्यलाई सरकारले दिने भनेको मानपदवी अस्वीकार गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानले स्वर्गी नेता अमात्यको योगदानको अवमूल्यन र अपमान हुने गरी सरकारले मानपदवी दिने निर्णय गरेको जनाउँदै अस्वीकार गर्ने जनाएको हो।
सरकारले संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई मानपदवी तथा विभूषण प्रदान गर्ने निर्णय गर्दै सूची सार्वजनिक गरेको थियो। सोही क्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता अमात्यलाई 'महाउज्ज्वल रास्ट्रदीप' पदक दिने निर्णय गरेको थियो।
'शीर्षस्थ नेतृत्वमा रहेर नेपालको लोकतन्त्रिक, कम्युनिस्ट एवं किसान आन्दोलनमा निर्वाह गरेको भूमिका, राजनीतिक आदर्श, मूल्य मान्यताका प्रतिमूर्ति, नेपाली जनतालाई शोषण, दमनबाट मुक्त गरी मालिक बनाउने समाजवादी सिद्धान्तका प्रवर्द्धक स्व. तुल्सीलाल अमात्यलाई हचुवाको भरमा मूल्यांकन गरी प्रदान गर्ने घोषणा गरिएको उक्त मानपदवीले उहाँको व्यक्तित्वको अवमूल्यन र अपमान भएको महसुस भएको छ,' प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्व. नेता अमात्यको परिवारसहित प्रतिष्ठान कार्यसमितिको बैठकले मानपदवी अस्वीकार गर्ने निर्णय गरेको प्रतिष्ठानले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।