काठमाडौं– वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेकी छन्।
एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ।
लीमाले यसअघि आफूहरूलाई नै समर्थन गरेपनि सक्रिय राजनीति गर्नेगरि अहिले आएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए।
लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवामा सक्रिय थिइन्। उनी नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन्।
अधिकारीले ठूलोबुबा (पूर्वप्रधानमन्त्री मनहोन अधिकारी) र बुबाले राजनीतिमार्फत् गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन्।
‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता अजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’, अधिकारीले भनिन्, ‘तर, मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले हामीजस्ता युवाहरुको राजनीतिमा आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ।’
लीमा भरतमोहनका तीनमध्ये माइली छोरी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।