फाइल तस्बिर। काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ठूला लगानीको स्रोत खुलाउनु नपर्ने गरी बजेटमा समेटिएको कार्यक्रमप्रति आपत्ति जनाएका छन्।
रकारले गरेका हरेक कामको जिम्मेवारी प्रधानमन्त्रीसित जोडिने हुनाले तत्कालै लगानीको स्रोत नखुलाइ काम गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा चुप लागेर बस्न नमिल्ने उनको भनााइ छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्ता महत्त्वपूर्ण विषयमा प्रधानमन्त्रीले गम्भीरताका साथ सोच्नु पर्ने बताए।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई काम गर्न सहज नभएता पनि जनचाहाना अनुरुप काम गर्न केन्द्रित हुनुपर्ने सिंहको सुझाव छ। सरकारले जनअपेक्षा अनुरुप काम गर्ने विषयलाई गम्भीरताका साथ लिन पनि उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरे।
'सरकारले पूर्णता नपाउनुको मुख्य कारण शेरबहादुर देउवा नभएर गठबन्धनभित्र रहेका दलहरू रहेको उहाँले (प्रधानमन्त्रीले) बताउनुभएको छ। केही दल नयाँ बनिरहेका छन्, तीभित्र केही आन्तरिक समस्या छन्। जसले गर्दा सरकारले पूर्णता पाउन ढिला भएको छ', सिंहले भने, 'यसमा पार्टी सभापति प्रधानमन्त्री शेरबहादुरजीले गम्भीरताका साथ लिएर जति सक्दो गठबन्धनभित्र रहेका दलहरुसित कुरा गरेर पूर्णता दिनुपर्छ।'
उनले कांग्रेस महाधिवेशन यो या त्यो बहानामा प्रभावित पार्न नहुने भन्दै अब हर तवरबाट महाधिवेशन सफल गराउन लाग्न सबैमा अपिल गरे।
ठूला परिवर्तनको अगुवाइ गरेको काठमाडौं जहिले पनि जिम्मेवारीबाट पन्छाइने गरेको भन्दै यसपटक आफू कांग्रेस सभापतिको रेसबाट पछि नहट्ने सिंहले दोहोर्याए।
यतिबेला देशभरिका कार्यकर्ताले आफूलाई दिएको सुझावका कारण पनि राजनीति र कांग्रेस शुद्धीकरणमा लाग्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।