काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलसहितका नेताहरुले असार २७ गते भएको १० बुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन नहुने भए खारेज गर्न चुनौती दिएका छन्।
आज (शुक्रबार)देखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले यस्तो चुनौती दिएका छन्। बैठकको सुरुवातमै एमाले केन्द्रीय कमिटी सदस्य झपट रावल, भानुभक्त जोशी सहितका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जाहेर गरेका थिए।
त्यसपछि बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनमा इमान्दारिता नदेखिएको बताएका थिए।
‘भदौ ८ गतेको स्थायी कमिटी र १० गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ,’ रावलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘अन्तर पार्टी निर्देशन १२ लाई लागू गर्ने विषयमा बदमासी भएको छ। तत्काल यसको निचोडमा पुर्याउनुपर्छ।’
अपानि र सहमतिको किन कार्यान्वयन भएन त्यस विषयमा छलफल गरेर अघि बढ्नुपर्ने नेताहरुको भनाई थियो।
‘जेठ २ मा जस्ताको त्यस्तै जानुपर्ने र १० बुँदे सहमति लागू गर्न नसकिने हो भने यसै बैठकबाट खारेज गर्ने आँट गरौं,’ भीम रावलले भने,‘होइन भने इमान्दारिता पूर्वक सहमति लागू हुनुपर्यो।’
रावलसहितका नेताहरुले बैठकमा असन्तुष्टि जनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका नेताहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका थिए।
नेताहरु भानुभक्त जोशी, झपट रावल, सुरेन्द्र मानन्धर, प्रकाश शाहसमेतले बैठकमा बोल्दै १० बुँदे सहमति अनुसार अघि नबढ्ने हो भने सँगै जाने आधार कमजोर हुने धारणा राखेका थिए।
एमाले भित्रको आन्तरिक विवाद समाधानका लागि भएको १० बुँदे सहमति अधिकांश क्षेत्रमा 'कार्यान्वयनको चरण'मा गएको बताइए पनि सुदूरपश्चिममा भने कार्यान्वयन हुन सकेको छैन। एमालेको इञ्चार्जको विषयमा त्यहाँ उपाध्यक्ष रावल र नेकपा माओवादी केन्द्र छाडेर एमालेमा आएका स्थायी कमिटी सदस्य लेखराज भट्टबीच विवाद देखिएको छ।
रावलले सहमतिअनुसार आफू नै इञ्चार्ज हुनुपर्ने बताइरहेका छन् भने भट्ट जेठ २ जस्ताको त्यस्तै कार्यान्वयन हुन नसक्ने भएकाले यसअघि नै आफूले इञ्चार्जको जिम्मेवारी पाएको भन्दै निरन्तर हुनुपर्ने दाबी राख्दै आएका छन्।
सुदूरपश्चिमको इञ्चार्जको हकमा अध्यक्ष ओलीले पनि भट्टलाई नै साथ दिएका छन्। अध्यक्ष ओलीले केही दिन अगाडि रावललाई आफ्नो निजी निवास बालकोटमा बोलाएर सुदूरपश्चिमको इञ्चार्ज लेखराज नै रहने बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।