फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले १० बुँदे सहमति तलसम्मै कार्यान्वयन हुनेमा आफूहरु आशावादी रहेको बताएका छन्। आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै उनले यस्तो बताएका हुन्।
‘१० सदस्यीय कार्यदलले गरेको १० बुँदे सहमति तलसम्म नै कार्यान्वयन भएर जान्छ भन्नेमा हामी ढुक्क छौं,’ उनले भने, ‘कतिपय स्थानमा सहज रुपमा कार्यान्वयन भइसक्यो। केही ठाउँमा जटिलता देखिएको छ।’
उनले लामो अन्तरद्वन्द्वबाट यहाँसम्म आइपुगेको भन्दै कतिपय विषय तत्कालै कार्यान्वयन नहुन पनि सक्ने बताए।
विधान महाधिवेशन नजिक आइरहेका बेला त्यहाँ सहभागी हुने प्रतिनिधिको विषयमा पनि छिट्टै टुंगोमा पुग्ने उनको भनाइ छ। उनले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समस्या देखिएको विषयमा छलफल गरेर सहज बनाउने प्रतिबद्धतासमेत जनाएको बताए।
‘नेतृत्व तहमा छलफल गरेर सहज बनाउन सकिन्छ,’अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘केही विमति र असहज भए त्यसलाई पार्टीभित्र छलफल गर्दै अगाडि बढ्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।