काठमाडौं- वैदेशिक रोजगारीमा इजरायल जानका लागि २७ सय ९० जनाले नक्कली प्रमाणपत्र (फेक डकुमेन्ट) पेस गरेको पाइएको छ। वैदेशिक रोजगारी विभागका महानिर्देशक दीपक काफ्लेले संसद्को उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा उक्त जानकारी दिएका हुन्।
इजरायलको भाषा परीक्षासम्बन्धी विषयको छलफलमा उनले अनलाइनमा घोषणा गरेर आउनपर्नेमा आफू जाँदा भेरिफिकेसन सुरु भएको उनले जानकारी दिए।
‘इजरायल जानका लागि नौ हजार ६९९ जनाको निवेदन पेस भएकोमा १५ सय भेरिफाइड भएको थियो,’ उनले भने, ‘हामीले मापदण्ड बनाउँदै भेरिफिकेसन गर्दा केही दरखास्तमा फेक हो कि भन्ने सूचनाअनुसार अध्ययन गर्दा शंका लागेपछि २७ सय ९० दरखास्त रद्द गरिएको थियो।’ यी निवेदनहरुमा विभिन्न प्रमाणपत्र नक्कली रहेको उनले बताए।
यसमा किन रद्द गरियो भनेर विभागमा अहिलेसम्म कुनै उजुरी नपरेको पनि उनले जानकारी गराए। परीक्षा सञ्चालन हुँदा छ हजार ३१७ जना सहभागी भएको र मेसिनले उत्तरपुस्तिका परीक्षण गर्ने पद्धति लागू गरेर नतिजा सार्वजनिक गरेको उनले बताए।
‘परीक्षा सञ्चालन गरेको दिन ५ बजे चिकित्सा शिक्षा आयोगमा बसेर त्यही परीक्षण गरेका हौं,’ महानिर्देशक काफ्लेले भने, ‘सचिव र राजदूतले उत्तर पुस्तिकाको पोको खोलेपछि रातभरि काम गरेर भोलिपल्ट नतिजा निकालेको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।